
काठमाडौं । नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ । यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ ।
बिहीबार साँझ सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ । जस अनुसार अब एमाले स्थायी कमिटी, पालिटव्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन् ।
पार्टी उपाध्यक्ष गुरु बरालले दिनु भएको जानकारी अनुसार लामो छलफल पछि नेताहरु उल्लेखित विषयमा सहमतिमा पुगेका हुन् । आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रुपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताउनुभयो ।
पदाधिकारीको संख्या १५ वटा पद रहने जसमा अध्यक्ष, महासचिव र उपमहासचिव १–१ जना रहने, उपाध्यक्ष पाँच र सचिव सातजना रहने अनौपचारिक सहमति भएको जनाइएको छ ।
उपाध्यक्ष बरालले जनाउनु भए अनुसार केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि नेताहरु बीच लामो छलफल भएको थियो । पार्टी उपाध्यक्ष एवं विधान संसोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्नु भएको थियो ।
नेताहरुले पदाधिकारीहरुको संख्या १५ राख्नु पर्ने राय दिएको र केन्द्रीय कमिटीमा प्रस्तावित संख्यालाई पनि नेताहरुले २५१ सदस्यीय बनाउन आग्रह गरेपछि सोही अनुसार निर्णय भएको हो ।
केन्द्रीय कमिटीको एकतिहाई सदस्य पोलिटव्यूरोमा रहनेछन् । जस अनुसार अब एमालेको पोलिटव्यूरो ८३ सदस्यीय हुनेछ । हाल एमाले पोलिटव्यूरो ९९ सदस्यीय थियो ।
उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय सर्वसम्मत भएको छ । उहाँका अनुसार विधान संशोधनका प्रावधानमा बैठकको सुरुमा नेताहरुले विभिन्न मत राखे पनि सबै निर्णयहरु सर्वसम्मत भएका हुन् ।
ज्ञवालीका अनुसार पार्टी केन्द्रीय सदस्यहरुलाई महाधिवशेनमा उम्मेद्वार हुने गरी सहभागी हुन आफ्नै भूगोलबाट चुनिएर आउने कि स्वतः आयोजकको हैसियतमा सहभागी गराउने विषयमा लामो छलफल भएको थियो । छलफलले केन्द्रीय सदस्यहरु स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुने गरी निर्णय गरेको छ ।
विधान महाधिवेशनको हकमा यस अघि सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र सहभागी हुन पाउने विधानको व्यवस्थालाई यथावत राखिएको छ । नयाँ थपिएका केन्द्रीय सदस्यहरु आयोजकको हैसियतमा मात्र विधान महाधिवेशनमा सहभागी हुनेछन् ।
सचिवालयले बिहीबार गरेको निर्णय आज दिउँसो १ बजे बस्ने पोलिटव्यूरो बैठकबाट अनुमोदन गरिने नेताहरुले जनाएका छन् । ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयहरु प्रस्ताव गरिने र सो बैठकको निर्णयलाई विधान महाधिवेशनमा प्रस्तुत गरिने जनाइएको छ ।