
काठमाडौं । रसुवामा आएको बाढीका कारण पुल र सडक भत्किँदा केरुङमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन चीनले निर्णय नगर्दा ढिलाइ भएको छ ।
केरुङमा रोकिएका नेपालीलाई सिन्धुपाल्चोकमा रहेको तातोपानी नाका हुँदै फर्काउने तयारी भए पनि चीनको निर्णय आइनसकेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनभयो ।
उहाँका अनुसार केरुङमा रहेका नेपालीलाई फर्काउने व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ । रोकिएकाहरूको खाने–बस्ने व्यवस्था चिनियाँ पक्षले गर्दै आएको छ ।
बाढीका कारण मालवाहक गडीका चालक तथा सहचालक गरी ९१ जना रोकिएका छन् । अरू कामको सिलसिलामा गएका समेत गरी कुल एक हजार २०० जना नेपाली केरुङमा रहेकामा चालक र सहचालकबाहेक ११७ जनाले पनि आफूलाई फर्काउन अनुरोध गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाउनुका साथै स्याफ्रुबेँसी–रसुवागढी सडकमा पनि क्षति पुगेको छ ।