
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (धनीपुर्जा) वितरण गरेको छ ।
अर्जुनधारा नगरपालिकाको आयोजनामा आज नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाललगायतले ९६ जनालाई धनीपुर्जा प्रदान गर्नु भएको हो ।
झापा क्षेत्र नं. २ का सांसदसमेत रहेका सभामुख घिमिरेले अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा बितरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै नगरका सबै अव्यवस्थित बसोबासीहरुलाई क्रमशः धनीपुर्जा बितरण गर्नु पर्ने बताउनुभयो ।
१२८ जनालाई धनिपुर्जा प्रदान गर्ने भनिए पनि अर्जुनधारा-११ स्थित लक्ष्मीधाप टोलअन्तर्गतका ९६ जना स्थानीयबासीलाई धनीपुर्जा वितरण गरिएको नगरप्रमुख बलदेव गोम्देनले जानकारी दिनुभयो ।
राजश्व संकलन लगायतका प्रक्रिया पुरा नहुँदा बाँकी रहेकालाई अर्को पटक धनिपुर्जा वितरण गर्ने बताइएको छ । मेयर गोम्देनले नगरमा रहेका भूमि सम्बन्धि समस्याहरू सभामुख, मन्त्री र आयोगका केन्द्रीय अध्यक्ष रिजाललाइ जानकारी गराउनु भएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले २०२१ सालको पुरानो भूमि ऐनले वर्तमानका जटिलतालाई सम्बोधन गर्न नसक्ने भएकाले नयाँ कानुनको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले आयोगले भूमिहीन दलित-सुकुम्बासीलाई पौने ६ कठ्ठासम्म निःशुल्क र अव्यवस्थित बसोबासीलाई तोकिएको राजस्व लिएर जग्गा दिने नीति स्पष्ट रहेको जानकारी दिनुभयो । विगतका आयोगहरूले अधुरो छोडेका कामलाई समेत अहिलेको आयोगले टुङ्ग्याउने अधिकारको उहाँको भनाई छ ।
गत जेठ २६ गते सार्वजनिक सूचना जारी गरी उक्त क्षेत्रका लाभग्राहीलाई आवश्यक कागजातसहित राजस्व बुझाउने समय दिइएको थियो । सोअनुसार कागज पुर्याएर प्रक्रिया पूरा गरेका ९६ जना लाभग्राहीलाई धनीपुर्जा वितरण गरिएको नगर उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, संविधानसभा सदस्य तथा नेकपा एमाले जिल्ला समिति अध्यक्ष प्रेम गिरी, प्रदेश सभा सदस्य चिन्तन पाठक, कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।