
काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ३४ दशमलव ६१ अङ्कले बढेर २ हजार ७९४ दशमलव ७८ विन्दुमा पुगेको छ । नेप्से हिजो पनि ३४ अङ्कभन्दा धेरैले बढेको थियो ।
आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज यो समूहको शेयर ३ दशमलव ८६ प्रतिशतले उकालो लागेको छ ।
आज कुमारी बैंकको डिबेन्चर र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन माई खोला हाइड्रोपार कम्पनीको शेयर भने झन्डै ८ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३३० वटा कम्पनीका ४ करोड ३१ लाख कित्ता शेयर १४ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।