२०८२ असार ३२, बुधवार , ०४:५३:२५ बजे

Sajhamanch
'

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

बुधवार, असार ३२, २०८२

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहिमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भ्रष्टाचारी मन्त्री होस् वा अन्य कुनै पदमा व्यक्ति, जो भएपनि कारबाही हुने स्पष्ट पारेका हुन् ।

नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा, तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनले बताए । उनले भ्रष्टाचारका बिषयमा सरकारले आँखा चिम्लिएर नबस्ने धारणा राखे ।

त्यस्तै, प्रवक्ता गुरुङले भिजिट भिसामार्फत स्पेन गएर नफर्केकामाथि सरकारले अनुसन्धान सुरु गरिसकेको बताए ।

असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

मन्त्रीपरिषद्ले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरुको सरुवा गर्ने निर्णय समेत गरेको छ ।