
काठमाडौं । सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । अस्ति सोमवार बसेको मन्त्रिपपिरषद् बैठकले साउन १६ गतेलाई कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
यसअघि राष्ट्रिय कृषक समूह महासङ्घले साउन १५ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउँदै आएको थियो । यस वर्षदेखि सरकारले राष्ट्रिय रूपमै दिवस मनाउने भएको हो ।
सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेर उत्पादन बढाउने कार्यक्रम सञ्चालन गरे पनि बहुगुणी अन्नका रूपमा रहेको कोदो उपेक्षामा परेको छ ।
पछिल्लो समय शहरका होटल तथा रेस्टुरेन्टमा समेत कोदोका परिकार मन पराउने ग्राहक बढिरहँदा कोदोको माग बढेको छ । तर माग बढे पनि उत्पादन भने घटिरहेको सरकारी तथ्याङ्कले देखाउँछ । कोदो उत्पादनको सम्भावना भए पनि माग धान्नका लागि आयात गर्नुपर्ने बाध्यता छ ।