
विराटनगर । मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो ।
हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् ।
भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनु भयो ।
‘मेड इन जापान’ लेखिएको १ थान पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको उहाँले बताउनु भयो ।
पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
यसअघि हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको देखिएको प्रहरीले जनाएको छ ।