
काठमाडौं । सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ । मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा पानी पर्न थालेको र योक्रम भोलिदेखि थप बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ तथा अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ ।
त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ । आज कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको केही ठाउँ हावाहरुको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
ठूला तथा साना नदी र खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यस वर्षको मनसुन भित्रिएदेखि नै राम्रोसँग मनसुनी प्रणाली फैलिन नसक्दा कोशी प्रदेशका केही र मधेशका धेरैजसो भागमा पानी पर्न सकेको थिएन ।
पर्याप्त वर्षा नहुँदा मधेशमा रोपाइँ प्रभावित भएको छ । पानी पर्नेक्रम शुरू भएसँगै रोपाइँ थप सहज हुने अपेक्षा छ ।
धान रोपाइँको बेलामा राम्रोसँग वर्षा नहुँदा प्रमुख खाद्यान्न बाली धानखेती प्रभावित हुन पुगेको नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालले बताउनुभयो ।
असार सकिनै लाग्दा मधेश प्रदेशमा अहिलेसम्म जम्मा ३४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मधेशमा तीन लाख ७२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । गएको वर्ष असार मसान्तसम्म झन्डै ६२ प्रतिशत धान रोपाइँ भएको थियो ।