
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा सहयोग रकम प्राप्त भएको छ ।
नेकपा एमालेका नेताहरुले आज एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १०० रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो ।
नेकपा एमाले बिर्तामोड नगर इञ्चार्ज अम्बिरकुमार लिङ्देनले ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १०० रुपैयाँ कोषलाई सहयोग गर्नुभएको हो ।
प्रेस चौतारी झापाले स्थापना गरेको कोषका बारेमा जानकारी दिन पुगेको पत्रकारहरुको टोलीलाई नेताहरुले कोषको उद्देश्य मन पराएर सहयोग गरेको जानकारी दिनुभयो ।
पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापित कोषको रकम वृद्धिका लागि एमाले नेताहरुले सहयोगको प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।
बिर्तामोड नगर प्रमुख एवम् प्रदेश कमिटी सदस्य पवित्रा महतारा प्रसाई, एमाले नेताहरु देवराज कार्की, अम्बिरकुमार लिङदेन, सुवास भट्टराई, बद्री भट्टराई, राजेन्द्र भट्टराई, उपेन्द्र बानियाँ, चौतारीका पूर्व केन्द्रीय सदस्य मोहन काजी, उपचार कोषका संयोजक भीमा शिवाकोटीले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
प्रेस चौतारी झापाका अध्यक्ष परियारले कोष स्थापना र आगामी योजनाका बारेमा संक्षिप्त जानकारी दिनु भएको थियो ।
उपचार कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने व्याजले पत्रकारको उपचारमा सहयोग गर्ने कोषको संयोजक शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोषमा ७ लाख रुपैयाँ जम्मा भएको छ ।