२०८२ असार ३१, मङ्गलवार , ०६:०३:४४ बजे

Sajhamanch
'

साउन १ बाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताउनु भयो।

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

‘अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं, धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भन्नुभयो ।

०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।

सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक विदाको दिन बन्द नगर्न सुझाव दिएका थिए ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढोस् भन्ने नागरिकको चाहना अनुसार तयारी गर्न भनेपछि मन्त्रालयले सोही अनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।

भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।

झापाको विजनेश कम्प्लेक्स खुला हुने

झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । शहरी विकास मन्त्रालयले अहिले परिक्षणका रुपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो ।

१०० मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।

साउन १ बाट मन्त्रालयका काम पेपरलेस हुने

शहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकिकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारवाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्ने सचिव गोपाल सिग्देलले बताए ।

मन्त्रालयका सचिव सिग्देलले आंशिक रुपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्यवयनमा ल्याउने जानकारी दिए ।

‘सरकारी कामकारवाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौं,’ सचिव सिग्देलले भने,‘ अब अन्तर मन्त्रालय फाइल र चिठि पत्र, मन्त्रालय र विभागहरुबिच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’

अनधिकृत गाडी प्रयोगमा रोक, विद्युतिय हाजिरिमा कडाइ

शहरी विकास मन्त्रालयले अनधिकृत रुपमा प्रयोग भएका मन्त्रालयका गाडीहरु फिर्ता ल्याएको छ । साउन १ गतेबाट नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ ।

पाउनुपर्नेले गाडी नपाएको र मापदण्डमा नपर्नेले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अनधिकृत रुपमा प्रयोग भएका गाडी फिर्ता ल्याइएको छ । मन्त्रालयबाट सरुवा भइ जाँदा सचिव र उच्च पदस्थ कर्मचारीहरुले सँगै लगेका सवारीसाधन पनि फिर्ता ल्याइएको छ ।

त्यस्तै, मन्त्रालयले साउन १ गतेबाट विद्युतिय हाजिरीमा पनि कडाई गर्ने भएको छ । अहिले विद्युतिय हाजिरिको व्यवस्था भएपनि विभिन्न बहाना बनाएर हाजिरि टार्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले कडाइ गर्न लागेको हो ।

प्रमुख आयोजनाको अनुगमन मन्त्रालयबाटै

शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रमुख आयोजनाहरुका प्रत्यक्ष नियमित अनुगमन अब मन्त्रालयबाटै हुने छ ।

अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उपप्रधानमन्त्री सिंहले मन्त्रालयस्थित कार्यकक्षबाटै अनुगमन गर्दै आउनुभएकोमा साउन १ गतेबाट अरु आयोजनाहरुको पनि अनुगमन हुने छ ।

आयोजनाको कार्यप्रगति विवरण मन्त्रालयको कन्ट्रोल रुपबाट नियमित रुपमा अनुगमन हुनेछ ।

मङ्गलवार, असार ३१, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर