
इलाम । इलाममा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ भने अर्का एकजना पुरुष सिकिस्त भएका छन् ।
सर्पले टोकेर चुलाचुली गाउँपालिका-१ तीनतले बस्ने चित्रबहादुर राईकी छोरी १३ वर्षीया प्रिया राईको मृत्यु भएको हो । आइतवार राति आफ्नै घरको कोठामा सुतिरहेको बेला उनलाई बिषालु सर्पले टोकेको थियो ।
बालिकाको हातमा सर्पले टोकेको डाम देखिएपछि दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश केन्द्रमा लगिएको थियो । सर्पदंश उपचार केन्द्र दमकमा उपचारका क्रममा हिजो बिहान ९ बजे बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनी चुलाचुली १ कमलस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।
त्यस्तै आज बिहान १०ः३० बजे इलाम नगरपालिका १२ साङरुम्बा बस्ने ४८ वर्षीय बुद्धि राईलाई आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पले टोकेको छ । बायाँ हातमा सर्पले टोकेर जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि उनलाई झापातर्फ ल्याइएको छ ।