
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी माथि दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । कर्मचारी माथि दुर्व्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग २ रचनाटार बस्ने नैनप्रसाद लिम्बूकी छोरी दुर्गामाया लिम्बू र सोही स्थानमा बस्ने चन्द्रलाल मगरको पत्नी माया मगरविरुद्ध जाहेरी दिइएको हो ।
सहाराका कर्मचारीहरुले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिँदै उनीहरुलाई कारबाहीको माग गरेका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने बिक लाई आइतबार ऋण असुली तागेता गर्न जाने क्रममा दुर्व्यवहार गरिएको थियो ।
दुर्गामाया र मायाले अपशब्द बोल्दै गाली गलौज गर्दै हातपात समेत गरी जुत्ताको माला लगाई दुर्व्यवहार गरेको सहारा नेपालले जनाएको छ । जाहेरी दिने कर्मचारीहरुले ऋण असुलीमा गएको बेला कुरा राख्ने क्रममा आफूहरुको कुरा सुन्दै नसुनी योजनावद्ध रुपमा दुर्व्यवहार गरेको जनाएका छन् ।
कर्मचारी माथि दुर्व्यवहारसँगै दुर्गामाया लिम्बू र माया मगरले मोवाइलबाट भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । जाहेरीमा उक्त विषयसमेत जानकारी दिदैं पीडित कर्मचारीले कारबाहीको माग गरेका छन् ।
यसै विषयमा विज्ञप्ति जारी गर्दै सहारा नेपालले सो घटनाप्रति दुख व्यक्त गर्दै खेद प्रकट गरेको छ । सहारा नेपालका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘अवाञ्छित कृयाकलापले सिङ्गो सहकारी एवं वित्तीय क्षेत्रलाई तहस नहस गर्ने र कर्मचारीहरुको मनोबल गिराउने भएकोले कर्मचारीहरुको आत्मसम्मानलाई उच्च राख्दै बचत तथा ऋणको कारोबारलाई स्वस्थ बनाउनका लागि यस्तो हर्कत कोही कसैबाट हुन नदिन र गलत एवं दुर्व्यवहार गर्ने सम्बन्धित पक्षलाई कडा भन्दा कडा कारवाही गर्न यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं ।’
सहारा नेपालको एकीकृत कर्मचारी संगठनले पनि विज्ञप्ति जारी गर्दै कर्मचारी माथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । संगठनले कर्मचारीको चरित्र हत्यासमेत गरेको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्व योजना अनुसार दुर्व्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपातसमेत गरी निकृष्ट कार्य गर्दै भिडियो समेत बनाई सामाजिक संजालमा राखेर गरिएको दुर्व्यवहारको घटनामा संगठनले घोर भत्सर्ना गरेको छ । संगठनले सो घटनालाई निन्दनीय, निकृष्ट, अक्षम्य र अमानवीय भनेको छ ।
संगठनका अध्यक्ष यादवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम हदैसम्म कारबाही गर्न साथै भिडियो सामाजिक संजालमा अपलोड गरी चरित्र हत्या गर्नेलाई समेत कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको लागि प्रशासन समक्ष जोडदार माग गर्दछौं ।’