
काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार शेयर बजारमा उत्साह देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज २९ अङ्कले बढेर २ हजार ७६० दशमलव ८० विन्दुमा पुगेको छ । आज बजार खुल्नेबित्तिकै नेप्से २ हजार ८ सय विन्दु नजिकै पुगेको थियो ।
आज जलविद्युत्, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको शेयर ३ दशमलव ५० प्रतिशत र बैंकिङ समूहको शेयर ३ दशमलव ३७ प्रतिशतले उकालो लागेको छ ।
आज एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमालयन हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका ३ करोड २५ लाख कित्ता शेयर ११ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।
गएको शुक्रवार नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको थियो ।