
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताउनु भएको छ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको जानकारी दिनु भयो ।
‘अहिले मनसुनको समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्न तयारी गरिरहेका छौं,’ उहाँले भन्नु भयो ।
लेखकले गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत बताउनु भयो ।
‘हामीसँग कानुनले नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ,’ उहाँले भन्नु भयो, ‘गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ ।