
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गर्नु भएको छ।
झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको गुनासो गर्नु भएको हो ।
उहाँले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी पनि गर्नु भयो ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गर्नु भयो ।
उहाँले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसईईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताउनु भयो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।