२०८२ असार २९, आइतवार , ०१:५९:०६ बजे

Sajhamanch
'

भरतपुरमा क्यान्सरको प्रकार थाहा पाइने अत्याधुनिक उपकरण सञ्चालनमा

आइतवार, असार २९, २०८२

चितवन । चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक उपकरण सञ्चालनमा ल्याएको छ । ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आईएचसी)’ भनिने उपकरण सञ्चालनमा आएको हो ।

स्वीस कम्पनी ‘रोश’ द्वारा निर्माण गरिएको यो उपकरणको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ ।

यो उपकरणमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको अस्पतालका प्रयोगशाला प्रमुख डा. ग्रेता पाण्डेले बताउनुभयो ।

यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत समस्या थिए । अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ । विशेषगरी टिस्यु अर्थात् मासुको नमूनामा कुन प्रोटिनहरू उपस्थित छन् भन्ने कुरा पत्ता लगाउन यसले सहयोग पुर्‍याउँछ ।

सम्बन्धित खबर