
कनकाई । झापाको कनकाई नगरपालिकाका २०८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गर्ने तयारी भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको हो ।
उहाँले शनिबार प्रधानमन्त्री ओलीको हातबाट कनकाई नगरपालिकाका विभिन्न वडाका २०८ जनालाई धनीपुर्जा वितरणको तयारी पूरा गरिएको जानकारी दिनुभयो ।
कनकाई नगरपालिका भूमि इकाई समितिका संयोजक रन्जिता कट्टेलले दिएको जानकारी अनुसार २०७४ सालदेखि नै कनकाई नगरपालिकाले सो पालिकाका सुकुम्वासी, अव्यवस्थित बसोबासी, दलितहरुका लागि धनीपुर्जा वितरणको कामहरु गरिरहेको थियोे ।
यसअघि कनकाईका विभिन्न वडाका १६० जनालाई धनीपुर्जा वितरण गरिएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ।
कनकाईमा वडा नम्बर ३ मा मात्रै भूमिहिन सुकुम्वासी ५३ जना, भूमिहिन दलित ३ जना र अव्यवस्थित बसोबासीको आधारमा ७१ जना गरी कूल १२७ घर परिवारले जग्गा धनीपुर्जा प्राप्त गर्दैछन् ।
यसबाहेक वडानम्बर ६ मा अवस्थित बसोबासीको आधारमा ६६ परिवार, भूमिहिन दलिततर्फ २ जना र सुकुम्वासीको आधारमा १२ जना गरी जम्मा ८० जनाले र कनकाई ८ नम्बर वार्डमा १ जना सुकुम्वासीले प्रधानमन्त्री ओलीको हातबाट धनीपुर्जा प्राप्त गर्ने जनाइएको छ ।
कोशी प्रदेशमा सबैभन्दा बढी काम भएर पनि कम सङ्ख्यामा धनीपुर्जा वितरण भएको भनेर आलोचना हुँदै आएको कनकाई नगरपालिकामा इतिहासकै सबैभन्दा बढी सङ्ख्यामा एकैसाथ धनीपुर्जा वितरण गर्ने तयारी भएको छ ।
कनकाई नगरपालिका क्षेत्रमा आगामी मंसिर महिनाभित्रै थप सुकुम्वासी, अव्यवस्थित बसोवासी र दलित परिवारलाई धनीपुर्जा वितरणको तयारी स्वरुप कामहरु तिव्ररुपमा अगाडि बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो ।