
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ ।
महिला उद्यमी महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उहाँले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,“हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने विश्वास लिएको छु ।”
उहाँले महिलाको सशक्तिकरणका लागि संविधानमा भएको व्यवस्था व्यवहारमा अवलम्बन गर्दै आइएको उल्लेख गर्नुभयो । “तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ । नतिजामा पनि छात्राहरूको उपस्थिति राम्रो हुँदै गएको छ । हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ”, प्रधानमन्त्री ओलीको भनाइ थियो ।