
काठमाडौं । भोटेकोशीमा आएको बाढीले समस्यामा परेका ४८५ जनालाई गन्तव्यतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
बाढीले बन्द भएको स्याफ्रुबेँशी र रसुवागढी सडक खण्डमा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाई ४८५ जनालाई सुरक्षाका साथ गन्तव्यतर्फ पुर्याएको हो । साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र एउटा विद्युतीय गाडीलाई सुरक्षित ठाउँमा सारेको सशस्त्र प्रहरीले जनाएको छ ।
बाढीले ९ जनाको ज्यान गएको छ । तीमध्ये ४ जनाको शव र ५ वटा मानव अङ्गमात्र फेला परेको छ । तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ नागरिक गरी २० जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।
ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिँदा रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुर्याएको छ । नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध छ । त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिममा रहेका घरपरिवारका १६५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।