
काठमाडौं । अस्ति मङ्गलवार नेपाल–चीन सिमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाढीमा परी ज्यान गुमाएका नौमध्ये आठ जनाको शव सङ्कलन गरी काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो कि होइन भनेर पहिचान हुन बाँकी छ ।
बाढीमा अझै दुई प्रहरी, ११ जना नेपाली नागरिक र ६ चिनिया नागरिक बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजीका लागि रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म प्रहरी परिचालन गरिएको छ ।
बाढीमा फसेका ५७ जनाको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुलसँगै २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा विद्युतीय गाडी बगाएको छ ।
बाढीका कारण सडक चर्किँदा रसुवाको धुन्चेदेखि टिमुरे जाने सडक अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।
नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाई अवरुद्ध रहेको सडक सञ्चालनका लागि सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा ठूलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको छ ।