२०८२ असार २६, बिहिवार , १०:०५:५८ बजे

Sajhamanch
'

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

बिहिवार, असार २६, २०८२

महोत्तरी । धार्मिक एवम् पारम्परिक अनेकौँ चाडपर्वको संस्कृति बोकेको मधेशको प्राचीन मिथिला क्षेत्रमा पनि आज गुरुपूर्णिमा पर्व मनाइँदैछ । चन्द्रमासको असार पूर्णिमाका दिन मनाइने यो पर्वमा गुरुप्रति भक्तिभाव र कृतज्ञता व्यक्त गरिन्छ ।

आजको दिन शिक्षा दिनेदेखि गायत्री तथा वेद सुनाउने र विशेष दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने हिन्दू मैथिल परम्परा छ ।

मिथिला अर्थात् विदेहभूमि महाज्ञानी अष्टावक्र, याज्ञवल्क्य, राजर्षि जनक तथा गार्गी एवम् मैत्रेयीजस्ता विद्वानरविदुषीको साधना, तप र ज्ञान आर्जन र प्रचारको थलोका रुपमा परिचित छ ।

यो पर्व परम्पराको निरन्तरता मात्र नभएर पारिवारिक र सामाजिक अनुशासनको स्मरण गराउने अवसर पनि भएको मिथिला लोकपरम्परा र संस्कृतिका जानकार बताउँछन् ।

प्राचीन गुरुकुल परम्पराको शिक्षाले परिवार, समाज, राष्ट्र र चराचरजगत्प्रतिको दायित्व र कर्तव्यबारे ज्ञान दिएर परिपक्व नागरिक बनाउने गरेका सन्दर्भ प्राचीन साहित्य र इतिहासमा वर्णन पाइने मटिहानीको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा.रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।

गुरुबाट प्राप्त शिक्षाले ज्ञानवान् भएका शिष्यले कृतज्ञता तथा अहोभाव व्यक्त गर्ने अवसरका रूपमा यो पर्वलाई लिने गरिएको वैष्णवको भनाइ छ ।

यस दिन गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्र आभूषण फेराउने र मिष्टान्न भोजन गराउने मैथिल परम्परा छ । पर्वविशेषले मिथिला क्षेत्रमा एक दिन पहिलेदेखि नै चहलपहल बढाएको छ ।

सम्बन्धित खबर