
काठमाडौं । भिसा भेरिफिकेसन प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् ।
चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लगाउँदा कम्तीमा दुई हजार ५ सय पर्यटक काठमाडौंमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् ।
यसअघि तीन दिनमा हुने भिसा प्रक्रिया अहिले १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौंका विभिन्न पाँचतारे होटलमा झन्डै तीन हजार पर्यटक मानसरोवर यात्राको प्रतीक्षामा रहेको व्यवसायीहरूको भनाइ छ ।
ओझा होलिडे टुर्स एन्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक रमेश ओझाले ‘सिजन’ कै बेला भिसा भेरिफिकेसनसम्बन्धी नयाँ नीतिले पर्यटन व्यवसायी मर्कामा परेको बताउनुभयो ।
उहाँका अनुसार तीन दिनमा हुने भिसा प्रक्रिया अहिले १० दिनसम्म लाग्ने गरेकाले दुई हजारभन्दा बढी धार्मिक पर्यटक मानसरोवर जान पाएका छैनन् ।
भिसा भेरिफिकेसनले कैलाश मानसरोवर यात्रा विलम्ब भइरहेका बेला रसुवामा बाढीले सडक अवरुद्ध हुँदा पर्यटक थप समस्यामा परेका छन् ।
धेरैजसो पर्यटक रसुवागढीबाट केरुङ रुट भएर मानसरोवर पुग्ने गरेकाले समस्या भएको हो । यो मार्ग अवरुद्ध हुँदा भारतीय पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भएको छ । धेरैजसो भारतीय नागरिक यो ‘रुट’ भएर मानसरोवर जाने गरेका छन् ।
कैलाश मानसरोवरमा विभिन्न देशमा रहेका भारतीय मूलका नागरिक हवाई यातायातको माध्यमबाट काठमाडौं–हुम्लाको सिमीकोट र काठमाडौंबाट चीनको ल्हासा भएर मानसरोवर पुग्ने गरेका छन् ।
काठमाण्डौबाट केरुङ रुट भएर पनि कैलाश मानसरोवर पुग्न सकिन्छ । यसकाठमाण्डौबाट नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर जान सकिन्छ ।