
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गएको कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो विश्वकपमा कांस्य पदक विजेता विजय सिँजालीलाई प्रधानमन्त्री ओलीले ६५ लाख रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
यस्तै गएको फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौं एशियन कबड्डी च्याम्पियन (महिला) तर्फ कांस्य पदक विजेता मनमती विष्टसहितलाई एक लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गर्नुभयो ।
यस्तै असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कामा भएको ‘काभा यू–२०’ पुरुष भलिबल च्याम्पियनशिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितले तीन लाख रुपैयाँका दरले पुरस्कार पाएका छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को व्यवस्था बमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट खेलाडीहरूलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा यही असार ८ देखि २१ गतेसम्म मलेशियामा भएको ‘एसीसी यू–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गर्नुभयो ।
प्रधानमन्त्रीले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको बताउँदै लगनशील भई व्यावसायिक हिसाबले समर्पण भावका साथ खेल जगत्मा रमाउनसके सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आउँदो आर्थिक वर्षका लागि यस वर्षकोभन्दा झन्डै दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुरमा निर्माण भइरहेको क्रिकेट मैदानको काम झन्डै अन्तिम चरणमा पुगेसँगै देशको खेलकुद क्षेत्र उत्साहित भएको बताउनुभयो ।