
झापा । इलाम माई नगरपालिका ३ हात्तीछिरास्थित चिसापानी–बिर्तामोड सडकखण्डमा बस र ट्याक्सी एकापसमा जुध्दा दुईजना घाइते भएका छन् ।
आज बिहान ७ः३५ बजे बिर्तामोडबाट चिसापानीतर्फ जाँदै गरेको मे. १ ज. ३०९३ नम्बरको बोलेरो ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ ख. ४१६२ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्सीमा सवार दुईजना घाइते भएका हुन् । घाइते हुनेहरुमा बिर्तामोड-५ बस्ने ५२ वर्षीया देवकुमारी भट्टराई र अर्जुनधारा २ खुदुनाबारी बस्ने ३८ वर्षीय प्रकाश थापा रहेका छन् ।
उनीहरुलाई माई अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । बस चालक इलाम माई-८ बस्ने ३२ वर्षीय धनबहादुर तामाङलाई उपचारमा संलग्न हुने गरी पठाइएको छ ।
ट्याक्सी चालक पाँचथर फाल्गुनन्द ३ बस्ने ३१ वर्षीय देउवीर तामाङलाई केही नभएको,ट्याक्सीको अगाडीको भागमा क्षति भएको र दुवै सवारी साधन प्रहरी चौकी दानाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उता उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो साँझ ५ः४५ बजे उदयपुर बेलका वडा नं. ८ बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प. ९८७ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ टंकी सिनुवारी २ बस्ने ३२ वर्षीय अनिल राजवंशी र पछाडी सवार भोजपुर षडानन्द नगरपालिका–७ दिङ्ला बस्ने १८ वर्षीया तुलसा कार्की घाइते भएका थिए ।
दुवै जना घाइतेहरुलाई उपचारको लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा मोटरसाइकल चालक राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।