
काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै एक करोड नौ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ घर भई काठमाण्डौ महानगरपालिका–६ बस्ने ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ घर भई दाङको तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ५४ वर्षीय स्वर्णिमकुमार बाँठा रहेका छन् ।
अमेरिका पठाइदिने भन्दै मिङमाडुण्डुले एक जनाबाट ४० लाख र स्वर्णिमले एक जनाबाट ६९ लाख ५० हजार रुपैयाँ ठगी गरेका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।