
काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १४ अङ्कले घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा झरेको छ ।
आज बैंक, होटल, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर १ दशमलव २५ प्रतिशतले उकालो लागेको छ ।
आज रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर ५ प्रतिशतले घटेको छ । आज बिहानको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । नेप्से खासै घटबढ नभएको दिन बुटवल पावर कम्पनीको शेयर ८ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३०४ वटा कम्पनीका १ करोड ५० लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।