२०८२ असार २३, सोमवार , ०२:५०:५७ बजे

Sajhamanch
'

बाढी पहिरोका कारण ४ वटा सडक पूर्ण रुपमा अवरुद्ध, ६९ स्थानमा एकतर्फी सञ्चालन

सोमवार, असार २३, २०८२

काठमाडौँ । मनसुन सक्रिय भएसँगै बाढी पहिरोका कारण देशभर सडक अवरुद्ध भएका छन् । सोमबार चार वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६९ स्थानमा एकतर्फी चालु रहेको सडक विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार बागलुङ, प्युठान र गुल्मीमा पहिरो खस्दा यातायात ठप्प भएको हो । विभागका अनुसार कक्रहवा (भारत सीमा) रुद्रपुर सालझण्डी, सन्धिखर्क–देविस्थान, वुर्तिवाङ्ग–ढोरपाटन र बागलुङको निसी खोला ७ भूमिथान खोलामा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबारदेखि अवरुद्ध बनेका यी सडकमा स्थानीय स्तरमा पहिरो पन्छाउने काम जारी रहेको समेत विभागले जनाएको छ ।

यसैगरी प्युठानको भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट सडक अन्तर्गत खहरे खोला जामुने डाँडा सडक आइतबारदेखि अवरुद्ध बनेको छ । अवरुद्ध हटाउन उपकरणहरू परिचालन गरेको जनाइएको छ ।

त्यस्तै, तानसेन–रिडी–कोरला सडक खण्ड दुई स्थानमा अवरुद्ध भएको छ। त्यस्तै बागलुङको दब्ल्याङमा भारी वर्षापछि माथिबाट लेदो माटो र ढुङ्गा (बोल्डर) खसेर सडक थुनिएको छ । विभागले त्यहाँ एक्स्क्याभेटर र लोडर प्रयोग गरी सडक खुलाउने काम भइरहेको बताइएको छ ।

सोही सडक खण्डको गुल्मीस्थित गरगरेमा पनि माथिबाट खसेको बोल्डर र लेदो माटोले सडक अवरुद्ध बनाएको छ। अहिले एक्स्क्याभेटर तथा लोडरको सहायताले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको विभागले जानकारी दिएको छ ।

सम्बन्धित खबर