
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई सन्तोषजनक काम नगरेको भन्दै एक वर्षको लागि कालोसूचीमा राखेको हो ।
लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रा.लि., राधेश्याम झा रहेको धनुषाको शिवम कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति रहेको टोखाको डीजी इगल कन्स्ट्रक्सन एण्ड विल्र्डस प्रा.लि. र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको थोमस कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा.लि.लाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गौशाला नगरपालिका महोत्तरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहट र भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय विराटनगरले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।