
ताप्लेजुङ । ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा संक्रमण देखिएको हो ।
केन्द्रका प्रमुख डा. रोशन दाहालका अनुसार हालसम्म ३४ पशुबस्तुमा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ। संक्रमण सिदिङ्वा गाउँपालिकाका-२, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशुबस्तुमा देखिएको छ।
सुरुमा फुङलिङ नगरपालिका-१० फुरुम्बु र वडा नम्बर ७ तथा ८ दोखुमा देखिएको थियो । लक्षण देखिएपछि पशुपालकको सूचनाका आधारमा नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।
जिल्लाको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म संक्रमण नदेखिएको जनाएको छ ।
संक्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले संक्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । हालसम्म चार हजार ७५० डोज लम्पी स्किनविरुद्धको खोप वितरण भइसकेको बताइएको छ ।
संक्रमण फैलिन नदिनका लागि पशुपालकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।