
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले विमानस्थल क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले यात्रु व्यवस्थापनलगायत काममा कठिनाइ भइरहेको बताउनुभयो ।
विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको उहाँको भनाइ छ ।
पर्यटनमन्त्री पाण्डेले त्रिभुवन विमानस्थलको क्षमता ४५ लाख जना यात्रुलाई ओहोरदोहोर गराउने भए पनि यस वर्ष ९५ लाख यात्रु ओहोरदोहोर गराइसकेको जानकारी दिँदै झन्डै दोब्बर क्षमताको यात्रुलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताका बीच पनि विमानस्थलको सेवालाई सहज र प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो ।