
काठमाडौं । मुसलमान समुदायले आज मुहर्रम पर्व मनाउँदै छन् । पर्वका अवसरमा मुसलमान समुदायले आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन् ।
मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाति हजरत इमाम हुसेनले गरेको साहदतको सम्झनामा ताजिया राख्ने चलन रहेको नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हलवाईले बताउनुभयो ।
उहाँका अनुसार इस्लामिक क्यालेन्डरको पहिलो महिनामा मनाइने मुहर्रमको नवौँ दिनमा मुस्लिम धर्मावलम्बीले आ–आफ्नो घरमा राखेको ताजिया १०औँ दिनमा विसर्जन गर्ने गरिन्छ । ताजिया बाँस, कागजको ढड्ठालगायतका कच्चा सामग्रीको प्रयोग गरी बनाउने गरिन्छ ।
ताजिया सामूहिक रूपमा आज घर नजिकै विसर्जन गरिन्छ । घरघरमा राखिएका ताजियाले बाँकेको नेपालगञ्ज ताजियामय नै बनेको छ । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजा गर्छन् । ताजियालाई पुजा गर्नाले पारिवारिक सुख, समृृद्धि हुने विश्वास छ ।