
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुम्लाको खार्पुनाथमा नवनिर्मित बेलीब्रिजको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कर्णाली करिडोर अन्तरगत खार्पुनाथ गाउँपालिका वडा नं. ५ मा रहेको चुवाखोलामा निर्मित बेलीब्रिज प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार नेपाली सेनाको हेलिकोप्टरमा प्रधानमन्त्री ओलीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति अशोक सिग्देल पनि पुल उद्घाटनका लागि सुर्खेत हुँदै हुम्ला जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली हुम्लाका लागि बिहान ८ः३० बजे काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
सो पूल निर्माणसँगै नेपालका ७७ वटै जिल्ला राष्ट्रिय राजमार्गसँग जोडिएका छन् । हुम्लामा मोटरबाटो पुगेपछि देशका सबै जिल्ला सदरमुकामसम्म अब सडक सञ्जालको पहुँच स्थापित भएको छ ।
हुम्ला प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेख्नु भएको छ :
हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ। यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ। अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ।
२३ वर्ष अघि निर्माण सुरु भएको सो सडक प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ४१० किलोमिटर लामो छ । यसले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट र सुदुरपश्चिमको बाजुराहुँदै हुम्लालाई जोड्दछ ।
यसअघि पटक–पटक पक्की पूल बनाउने ठेक्का प्रक्रिया अघि बढाउन सुरु गरिएको भएपनि तलबाट निस्किने तातोपानीका कारण अहिलेसम्म पूल बन्न सकेको थिएन । जिल्लाका सम्पूर्ण राजनीतिक दलहरूले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मार्फत संघीय सरकारलाई र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई ज्ञापन पत्र नै बुझाएका थिए ।
सोही अनुसार सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत २०८१ कार्तिक २० गते टिप्पणी आदेश उठाई पूलको अभावमा राष्ट्रिय राजमार्गको पहुँच बाहिर रहेको सिमकोट जोडने साढे ४८ मिटर लामो बेलिब्रिजको सम्पूर्ण सामग्री भौतिक मन्त्रालयले उपलब्ध गराउने र ढुवानी तथा जडानलाई द्रुतगतिमा सम्पन्न गर्न रक्षा मन्त्रालय मार्फत नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको थियो । सोही अनुसार बेलिब्रिज निर्माणले गति लिएर आज उद्घाटनको चरणमा पुगेको हो ।
असोज ३० गते हुम्ला पुग्नुभएका नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले खार्पुनाथ पूलसँगै मानसरोवर जाने सडक र लिमि लाप्चा मार्फत कैलाश पर्वतको दर्शन गर्न जाने सडकको निरीक्षण गर्नुभएको थियो ।