
कमल । झापाको कमल गाउँपालिका र इलामको सूर्योदय नगरपालिका बीच असल अभ्यास आदानप्रदानका लागि अन्तरपालिका भ्रमण गरिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण अन्तरगत सञ्चालन भएका कार्यक्रम सम्बन्धी असल अभ्यासका अनुभव आदान प्रदानका लागि दुई पालिका बीच भ्रमण गरिएको हो ।
असल अभ्यासका अनुभव आदान प्रदानका लागि शुक्रबार सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालको नेतृत्वमा रोजगार संयोजक, सामाजिक विकास शाखा प्रमुख, रेमी परियोजनाका कर्मचारीहरु, आप्रवासी श्रमिक सञ्जाल पदाधिकारी, आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारी लगायतको टोली कमल गाउँपालिकामा आएको हो ।
रेमी परियोजना अन्तरगत कमल गाउँपालिका रोजगार सेवा केन्द्रमा भएका कामहरु, हालसम्म भएको उपलब्धीका बारेमा दुवै पालिकाका तर्फबाट अनुभव साटासाट गरिएको थियो ।
आगामी दिनहरूमा रिटर्नीहरुको हकहितका लागि संघीय सरकारको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने र रिटर्नीहरूका आवाज संघ र प्रदेशसम्म पुर्याउनुपर्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी कार्यक्रममा रिटर्नीहरुको हकहितका लागिमात्र नभएर दैनिक हजारौंको संख्यामा विदेश जान लागेका युावालाई समेत देशमै रोजगारी सिर्जना हुने खालको वातावरण बनाउन सरकार लाग्नुपर्ने विषयमा समेत आपसी छलफल भएको कमल गाउँपालिकाका रोजगार संयोजक भरत तिवारीले बताउनु भयो ।
सूर्याेदय नगरपालिकाबाट आएको टोलीलाई आफ्नो पालिकामा स्वागत गर्दै दुवै पालिका बीच भएका असल अभ्यासलाई एकअर्काले लागू गर्ने र आगामी दिनमा यस्ता आन्तरिक भ्रमणले दुबै पालिकाका जनप्रतिनिधि, कर्मचारी, रेमी परियोजनाका कर्मचारीले रिटर्नीहरुका विषयमा कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
सूर्याेदय नगरपालिकाबाट आएको टोलीलाई कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले शाब्दिक स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा परिवार परामर्शकर्ता गङ्गा पराजुलीले कमल गाउँपालिकामा सञ्चालन भएको रेमी परियोजनाको तर्फबाट सम्पन्न गरिएका कामको प्रगति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम रोजगार परामर्शकर्ता दुर्गा पाण्डेले सञ्चालन गर्नु भएको थियो ।