२०८२ असार २०, शुक्रवार , ०९:३६:२८ बजे

Sajhamanch
'

मेचीनगरमा नगरप्रमुख, उपप्रमुखद्वारा स्वास्थ्य सेवाहरुको अनुगमन

शुक्रवार, असार २०, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले दृष्टिसँग सम्बन्धित अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको छ । बिहीबार नगरपालिकाले दृष्टिसँग सम्बन्धित अपाङ्गता भएका २८ जना व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको हो ।

नगरपालिका र मेची नेत्रालय बीचको सम्झौता अनुसार ५ जनाको शल्याक्रिया र २३ जनाको मेडिकल उपचार भएको करूणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम बराइलीले जानकारी दिए ।

नगरपालिकाबाट यसअघि ४२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यूरो, अर्थो र फिजियोथेरापीको उपचार सेवा प्रदान गरिएको उनले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा ७० जनाको उपचार भएको र बाँकीको आगामी वर्षमा निरन्तरता दिइने छ ।

उक्त स्वास्थ्य परीक्षण कार्यक्रमको नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, पूर्व क्षितिज अपाङ्ग सेवा संघका अध्यक्ष धर्मराज घिमिरे लगायतले स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा रहेको छ ।

शिविरमा ५०० जनाको उपचार

मेचीनगर–११, धाइजनस्थित स्वास्थ्य चौकीमा नसर्ने रोग न्यूनीकरणका लागि जारी अभियानको नगरप्रमुख बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा लगायतले बिहीबार अनुगमन गरेका छन् ।

अभियान अन्तरगत धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नगरका सबै वडामा नगरपालिकाले नसर्ने रोग न्यूनीकरणका लागि उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग, परीक्षण, उपचार र रोकथाम सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

चालु आर्थिक वर्षमा वडा नम्बर ११ मा उक्त शिविर २४ गतेसम्म सञ्चालन हुनेछ । शिविर असार १ गतेदेखि सुरु भएको हो ।

शिविरमा खटिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अविनाश देवले हालसम्म करिव ५०० जनालाई उपचार सेवा प्रदान गरेको जानकारी दिए । उपचारमा आएका मध्ये धेरै सुगर र प्रेसरका विरामी रहेको उनको भनाई छ ।

टोलमा स्वयमसेवकहरुले ४० वर्षभन्दा कम र त्यसभन्दा माथिका रोगी पहिचान गरेर आएका करिव ५० जना विरामीहरुको दैनिक उपचार सेवा हुँदैछ ।

उपचारमा आएका विरामीको प्रकृति हेरेर एमलोड ५ एमजी, मेटफरमीन ५ सय एमजी, एडट्रोभास्ट्रीन र गिल्मीप्राइड लगायतका औषधि निःशुल्क प्रदान गरिएको बताइएको छ ।

मेचीनगरका करिव एक लाख ३८ हजार नागरिक मध्ये ५० प्रतिशतलाई उपचार सेवा पुर्याउने लक्ष्य रहेको छ ।

स्वास्थ्य शाखाका अनुसार विभिन्न प्रकारका नसर्ने रोग लाग्न सक्ने अनुमान गरिएका ३६ दशमलव ४ प्रतिशत नागरिकलाई उपचार सेवा दिइने छ ।

उपचार सेवा दिइनु पर्ने अनुमान गरिएका ४० वर्ष कम उमेरका ३५ प्रतिशत र ४० देखि ६० वर्ष उमेरका २३ दशमलव ६० प्रतिशतका नागरिक रहेको ।

नगर अस्पतालमा विरामीको चाप

धुलाबारीस्थित मेचीनगर आधारभूत अस्पतालको पनि अनुगमन गरिएको छ । नगरप्रमुख बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख सापकोटा लगायतले अनुगमन गरेका हुन् ।

नगरप्रमुख बुढाथोकीले अस्पतालमा सेवा लिन आएका विरामीहरुको अवस्था बुझेका थिए । उनले डाक्टर, नर्स र कर्मचारीहरुलाई उपचारमा आएका विरामीहरुलाई जतिसक्दो चाँडो र राम्रोसँग सेवाप्रवाह गर्न निर्देशन गरेका थिए ।

अस्पताल र नयाँ सामुदायिक बहुउद्देश्यीय भवनमा १५ वेड, ल्याब, भिडियो एक्सरे, थाइराइड, ईसीजी लगयतको सेवा प्रदान गरिरहेको छ । दैनिक बिहान साढे ६ बजेदेखि ल्याबको समेत सेवा उपलब्ध छ ।

अस्पतालमा विशेषज्ञ र एमवीवीएस डाक्टरहरुबाट प्रत्येक मंगलबार स्त्री रोग तथा प्रसुती सेवा, बिहीबार बालरोग तथा नाक, कान र घाँटीको सेवा, शुक्रबार जनरल फिजिसियन सेवा, दैनिक बिहान ६ बजेदेखि ओपिडी सेवा, ईसीजी, युएसजी सेवा, २४सै घण्टा आकस्मिक सेवा, बीमा तथा अन्य निःशुल्क सेवाहरु प्रदान गरिएको छ ।

अस्पतालले दैनिक करिव ५०० जना बिरामीलाई उपचार सेवा दिइरहेको सापकोटाले बताइन् ।

सम्बन्धित खबर