
काठमाडौं । शेयर बजार लगातार चौथो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४२ अङ्कले बढेर २ हजार ६९४ दशमलव ८२ विन्दुमा पुगेको छ । पछिल्लो चार दिनमा नेप्से झन्डै सय अङ्कले उकालो लागेको छ ।
आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर २.८३ प्रतिशत, निर्जीवन बीमा समूहको शेयर २.५१ प्रतिशत, विकास बैंक समूहको शेयर २ दशमलव ३१ प्रतिशतले उकालो लागेको छ ।
आज ग्रीन विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से दोहोरो अङ्कले बढेको दिन आईसीएफसी फाइनान्स कम्पनीको डिबेन्चर ३ दशमलव ७३ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीका ३ करोड १ लाख कित्ता शेयर ९ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।