
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ९१ अङ्कले बढेर २ हजार ६६० दशमलव ३९ विन्दुमा पुगेको छ ।
आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर ९ दशमलव ८७ प्रतिशतले बढेको छ । नेप्से दोहोरो अङ्कले बढेको दिन युनिलिभर नेपाल कम्पनीको शेयर भने २ दशमलव १३ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३०९ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।