
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा परी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे रहेका छन् ।
रञ्जनले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ७५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।