
इलाम । इलाममा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
यौन दुर्व्यवहारको आरोपमा इलाम माई नगरपालिका–२ शितलीस्थित हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी नामक स्कुलका संस्थापक सोही ठाउँ बस्ने ५२ वर्षीय खेमराज ढकाल पक्राउ परेका हुन् ।
कक्षा ६ र ७ मा अध्ययनरत बालिकाहरूलाई विभिन्न किसिमको प्रलोभन र डर त्रास देखाई यौन दुर्व्यवहार गरेको अजानकारी आएपछि प्रहरी चौकी लोदिया दानावारिबाट प्रहरी नायव निरीक्षक सूर्य मोक्तानको कमान्डमा ४ जनाको टोली खटिएर ढकाललाई नियन्त्रणमा लिएको हो ।
आरोपी उनलाई पक्राउ गरी प्रहरी चौकी लोदिया दानावारिमा ल्याई राखिएकोमा पीडित पक्षका करिब सय जना जना प्रहरी चौकी दानावारि आई कालो मोसो दल्नुपर्ने माग गरेका थिए ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरी चौकी दानावारिबाट प्रहरी नायव निरीक्षक मोक्तानको कमान्डमा १२ जना, प्रहरी चौकी महमाईबाट ३ जना गरी १५ जना र सशस्त्र प्रहरीको सशस्त्र प्रहरी नायव निरीक्षक बज्रलाल तामाङको कमान्डमा ७ जनाको टोली खटिएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमान्डमा १० जनाको थप टोली खटिएको थियो । आन्दोलित अभिभावकहरू राति अबेलासम्म प्रहरी चौकी अगाडि बसेका थिए ।
आरोपित शिक्षकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताएका छन् ।