
काठमाडौं । कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
कञ्चनपुरको मोहना नदी लगायत अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै कैलालीको मोहना नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई बेलुकीसम्मै सतर्कता अपनाउन भनिएको छ ।
आज मधेश प्रदेशबाहेक सबै प्रदेशमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो हप्ताभर नै निरन्तर पानी पर्ने सम्भावना छ । अहिले देशभर नै मनसुन सक्रिय भएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्म लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा ठूलो वर्षाको सम्भावना रहेकाले पूर्वसूचनाको पालना गर्दै सावधान रहन भनेको छ ।
अरु पहाडी भूभागमा पनि ठूलो वर्षाको सम्भावना रहेकाले अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, मौसमी सूचनाको जानकारी राख्दै डुबान हुन सक्ने घरका नागरिकले सतर्कता अपनाउन, नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउँदै किनारामा कुनै काम नगर्न र उच्च जोखिम रहेका जिल्लाका विपत् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले आवश्यक निर्णय गर्न र पालना गराउन पनि आग्रह गरेको छ ।