
अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि शनिश्चरेमा ५ दिने प्राकृतिक रेसाजन्य हस्तकला तालिम सुरु गरेको छ ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षता तथा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको हो ।
तालिम उद्घाटन मन्तब्य राख्दै वडाध्यक्ष उप्रेतीले हरेक मानिसले आफ्नो भविष्य निर्माण गर्न तीनवटा कुराहरुको पालना गर्नुपर्ने सुझाउँदै संघर्ष, समयको व्यवस्थापन र सकारात्मक सोचको विकास अनिवार्य हुने बताउनु भयो । ‘जबसम्म नकारात्मक भावना राखेर काम गर्नुहुन्छ, तबसम्म तपाईं कोही पनि कहिल्यै सफल बन्न सक्नुहुने छैन’ वडाध्यक्ष उप्रेतीको भनाई थियो ।
‘तालिमलाई जीवनोपयोगी शिक्षाका रुपमा ग्रहण गरेमात्र यसबाट सिप आर्जन गर्न सकिने भएकोले हरेक सहभागीहरुले यस्तो निःशुल्क सिप सिक्ने अवसरलाई भरपुर उपयोग गर्न र हरेकले सम्पूर्ण ध्यान सिप सिक्नमा नै बिताउनु हुन’ उहाँको सुझाव थियो ।
सो अवसरमा तालिम आयोजनाको औचित्य प्रष्ट्याउँदै संस्था सञ्चालक समितिका सदस्य एवम् महिला विकास उपसमितिका संयोजक शर्मिला अधिकारीले फुर्सदिलो समय घरैमा व्यतित गरिरहनु भएका संस्थाका महिला सदस्यहरुलाई उद्यमशिल बनाउन तालिम आयोजना गरिएको बताउनु भयो ।
तालिमप्राप्त भएपछि प्रशिक्षार्थींहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु बिक्रीका लागि बजार खोजिरहन नपर्ने स्पष्ट पार्दै उहाँले सतासी डिपार्टमेन्ट स्टोरमा बिक्रीका लागि ती सामग्री राख्ने व्यवस्था मिलाइने भएकाले सहभागी सबैलाई सीप सिक्न सुझाव दिनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्था भएकाले आफ्ना सदस्यहरुबाट उत्पादित बस्तुहरुको प्रदर्शनी एवम् बिक्री कक्षको लागि संस्थाले निर्णय गरिसकेको सुनाउनु भयो ।
संस्थाले कृषि क्षेत्र अन्तरगत पर्ने केराको दाम्चाबाट तयार हुने रेसाजन्य वस्तुबाट हस्तकलाका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरेको तेहेरो लाभ लिन खोजेको उहाँको भनाई थियो ।
‘पहिलो कृषिजन्य वस्तुको कच्चा पदार्थ, दोस्रो आफ्ना सदस्यहरुलाई उद्यमशील बनाउने र तेस्रो सदस्यबाट उत्पादित सामग्रीहरु सतासी डिपार्टमेन्ट स्टोरमा बिक्रीका लागि राखिने भएकाले संस्थालाई तीनतिरबाट लाभ मिल्ने’ उहाँको भनाई छ ।
सतासी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक झलेन्द्रप्रसाद दाहालले सञ्चालन गर्नुभएको सो तालिम उद्घाटन समारोहमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई संस्थाका सदस्य बसन्त मल्लले शाब्दिक स्वागत गर्नुभएको थियो ।
असार १७ गतेसम्म पाँच दिन चल्ने तालिमको सहजीकरण इलामका हस्तकला विज्ञ श्रृजना याताले गर्दै हुनुहुन्छ । तालिमको सुरुवात गर्नुहुँदै प्रशिक्षक याताले मेसिनको सहायताले गरेको काम हस्तकला भित्र नपर्ने भएकाले सबै कामहरु मानिसले क्रमशः हातैले सम्पन्न गर्नुपर्ने बताउनु भयो ।
उहाँले पहिलो चरणमा कोलाको दाम्चाबाट तयार गरिएको रेसालाई हातले डोरी बनाउन सिकाएर सहजीकरण थाल्नु भएको थियो ।