२०८२ असार १२, बिहिवार , ०८:४४:५९ बजे

Sajhamanch
'

उनीहरुकै घर अगाडिको बाटो कालोपत्रे हुँदै गरेको देखाउन स्थानीयबासीलाई बोलाउनु पर्छ ! नगरप्रमुख गोम्देन

बिहिवार, असार १२, २०८२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन तामाङले आफ्नो घर अगाडिको सडक कालोपत्रे हुँदैगर्दा स्थानीयबासीलाई क्यारेम र लुडो खेल्न छोडेर सहयोग गर्न आग्रह गर्नुभएको छ।

विरोधका नाममा विरोध गर्ने तर आफ्नै घर अगाडिको सडक कालोपत्रे हुँदैगर्दा पनि वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको पाएपछि नगरबासीलाई सचेत गराउनु भएको हो ।

आज अर्जुनधारा नगरपालिका वडा नं. ३ को कार्यालय परिसर खुदुनाबारीमा आयोजित सार्वजनिक सुनवाईमा बोल्दै नगरप्रमुख तामाङले विकास सबैको साझा दायित्व भएको प्रष्ट पार्नुभयो ।

नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा आम नगरबासीको चासो र चिन्ता हुनुपर्ने भन्दै आगामी दिनमा आफ्नो घर अगाडिको सडक कालोपत्रे हुँदै गर्दा क्यारेम खेलेर नबस्न सचेत गराउनु भयो ।

आफूले दिनहुँ हिड्ने घरै अगाडिको सडक कालोपत्रे भइरहेको छ, सचेत युवा क्यामेरमा व्यस्त छ, उहाँले भन्नुभयो – त्यही युवा क्यारेम खेलिसकेर नगरपालिकाले केही गरेन भन्दै फेसबुकमा लेख्छ । बाटो नजिकै घर भएका मान्छेहरुलाई पनि काम भइरहेको ठाउँ देखाउन पाहुनालाई जस्तै बोलाउनुपर्छ ।

सार्वजनिक सुनवाई कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदैं उहाँले नगरको विकासको दायित्वमा नगरबासीको पनि उत्तिकै भूमिका रहेको बताउनु भयो । आफ्नो वडामा, घर अगाडि कसरी काम भइरहेको छ भन्ने विषयमा समेत कमैले चासो दिइरहेको उहाँको भनाई छ ।

काम गरेको नदेख्ने, नकारात्मक कुराहरु मात्र फैल्याउनु भनेको गैरजिम्मेवार नागरिकको काम हो, उहाँले थप्नुभयो – विकास निर्माणदेखि नगरका सबै किसिमका कामहरुमा नगरबासीले ध्यान दिन जरुरी छ । सबैले तथ्यसहित आलोचना गरेको कुरा पाच्य हुने भए पनि बिना तथ्य आलोचना गर्नु भनेको विरोधको लागि विरोध मात्र हुने नगरप्रमुख गोम्देनले स्पष्ट पार्नुभयो ।

सार्वजनिक सुनवाईमा नगरप्रमुख तामाङले खोला दोहनमा पनि नागरिकहरुको तर्फबाट पर्याप्त खबरदारी गर्नुपर्ने सूझाव दिनुभयो । खोला दोहन भइरहेको छ, मेयर नै आएर रोक्नुपर्छ भन्ने मानसिकता त्याग्नुहोस्, उहाँले भन्नुभयो – ‘त्यस्तो अवस्थामा हरेक नागरिकले खबरदारी गर्नुपर्छ । नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं ।’

जनताले चाहे जति विकास अहिले नै पूरा नभए पनि बिस्तारै हुने उहाँको धारणा थियो । अहिले भइरहेको विकासको संरक्षण चै राम्रोसँग गर्नुहोस् ।

कार्यक्रममा विरिङ पूल निर्माणको सम्बन्धमा उठेको जिज्ञासामा जवाफ दिदै नगरप्रमुख गोम्देनले पूल निर्माणका लागि प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसम्म पुगेर तत्काल निर्माणका लागि सहयोग मागेको जानकारी दिनुभयो । उहाँले आफूलाई पनि विरिङ पूल निर्माण गर्न धेरै हतार नै भएको जानकारी गराउनु भयो । विरिङको पूलको विषय प्राथमिकतामा राखेको उहाँको भनाई छ ।

सार्वजनिक सुनुवाईमा उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं ३ का वडाध्यक्ष सिताराम भट्टराई लगायतले जवाफ दिनुभएको थियो ।

सहभागीहरुले ट्रिपरलाई टाइम कार्ड लागू गर्नुपर्ने, वडामा टोल विकास संस्था, खेलकुद समिति गठन गर्नुपर्ने, बजारमा प्रभावकारी अनुगमन गर्नुपर्ने, ऐलनी जग्गाको समस्या समाधान गर्नुपर्ने, खोला दोहन रोक्नुपर्ने, अनुदानका सूचना सबैसम्म पुराउनुपर्ने, सडक बत्तीको समस्या समाधान गर्नुपर्ने, वडा नं. ३ को कार्यालय रहेको जग्गा क्षेत्रको समस्या समाधान गर्नुपर्ने, चुनावी घोषणा पूरा गर्नुपर्ने सवाल र सूझाव राखेका थिए ।

अर्जुनधारा नगरपालिकाको आयोजना तथा इजलास मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा वडाहरुबाट गरिएको नागरिक अभिमत र बहिर्गमन सर्वेक्षणको नतिजा कार्यक्रम संयोजक प्रदीप परियारले सार्वजनिक गर्नुभयो । कार्यक्रमको सहजीकरण विजय तिम्सिनाले गर्नुभएको थियो ।

सम्बन्धित खबर