२०८२ असार १२, बिहिवार , ०८:४५:०७ बजे

Sajhamanch
'

एमाले कमजोर बनाउन चार शक्ति लागेका छन्, यसको प्रतिवाद गर्नुपर्दछ : महासचिव शंकर पोखरेल

बिहिवार, असार १२, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथि चारवटा शक्तिले हमला गरिरहेको बताउनु भएको छ ।

एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढंगले उठाउँदा यस्तो हमला भए पनि उनीहरुको स्वार्थ पूरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उहाँको भनाई छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले एमालेलाई राजावादी, कम्यूनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरु र विदेशी शक्तिहरुले हमला गरिरहेको बताउनु भएको हो ।

‘एमालेलाई अहिले चारवटा शक्तिले साइवर हमला गरिरहेका छन् । मुख्यगरी उनीहरु सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन्’ सचिव पोखरेलको भनाई छ ।

राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भन्नुभयो ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरु हामी माथि खनिएका हुन् ।’

एमाले नभएको भए राजालाई नारयणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरु एमाले विरुद्ध खनिएको उहाँले बताउनुभयो ।

‘एमाले भएकै कारण राजावादीले जेठ १५ गतेदेखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भन्नुभयो ‘त्यसैले उनीहरु एमाले विरुद्ध खनिएका हुन् ।

राजावादीको गालीबाट हामी बिचलित हुनुहुदैन । उनीहरुले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौं ।’

एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्यूनिष्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ ।

नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरु बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी, समाजवादी र अन्य कम्यूनिष्ट नामका पार्टीहरु एमाले माथि हमला गर्न आउने गरेको उहाँले बताउनुभयो ।

‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्यूनिष्टधारीहरु साइबर हमला गर्न आएका छन्’ पोखरेलले भन्नुभयो ‘तिनीहरु विदेशीका भरिया हुन् । काँग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरु एमाले विरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ ।’