२०८२ असार ११, बुधवार , १२:३९:३५ बजे

Sajhamanch
'

झापासहित ५६ जिल्ला बाढीको जोखिममा, सतर्क रहन आग्रह

बुधवार, असार ११, २०८२

झापा । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज एक सतर्कता सूचना जारी गर्दै झापालगायत देशभरका ५६ जिल्लामा बाढीको सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

महाशाखाको बुलेटिनअनुसार कर्णाली, महाकाली र तिनीहरूका प्रमुख सहायक नदीहरू, पूर्वी र पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह हाल सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिनभित्र ती नदीहरूमा पानीको बहाव बढ्न सक्ने देखिएको छ। कोसी, नारायणी, कन्काई र तिनका सहायक नदीहरू भने सतर्कता तहको आसपास पुग्न सक्ने आकलन गरिएको छ।

त्यसैगरी, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, तनहुँ, गुल्मी, कास्की, पर्वत, पाल्पा, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, डोटी, डडेलधुरा, बैतडी, बझाङ लगायत जिल्लामा बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।

यस्तै, झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, नुवाकोट, मोरङ, सुनसरी, रौतहट, काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर), मकवानपुर, उदयपुर, चितवन, सल्यान, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुमपूर्व, अर्घाखाँची, प्युठान, सुर्खेत, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, अछाम, दार्चुला, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि केही साना नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले ती क्षेत्रमा सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीलाई विशेष सतर्क रहन तथा सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित खबर