
झापा । झापाको गौरीगंज गाउँपालिकाको १७ औं गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८६ लाख ९६ हजार ४ सय ४० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष पूजन न्यौपाने कुँवरले गाउँ सभामा बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटको प्रमुख अंश पालिकाका गौरवका योजनामा केन्द्रित गरिएको छ । यस अन्तर्गत “गौरीगंज आवास निर्माण” योजनामा १ करोड र हुलाकी सडक डिभाइडर रेलिङ तथा बत्ती व्यवस्थापनमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कृषि र पशुपालनलाई बजेटले प्राथमिकता दिएको छ । कृषिमा १ करोड ५० लाख र पशु सेवामा ५० लाख छुट्टाइएको छ । स्वास्थ्य तथा पोषण क्षेत्रमा १ करोड र गौरीगंज आधारभूत अस्पताल सञ्चालनका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षामा १ करोड ९० लाख, खानेपानी तथा सरसफाइमा १० लाख, युवा तथा खेलकुदमा १९ लाख, महिला लक्षित कार्यक्रममा ८ लाख, पूर्वाधार विकासमा ९५ लाख, वन तथा वातावरण क्षेत्रमा २५ लाख बजेट छुट्टाइएको छ ।
संस्थागत विकास तथा सुशासनमा १ करोड २२ लाख, सूचना तथा सञ्चार कार्यक्रममा ५ लाख, न्यायिक समितिमा ७ लाख र सुरक्षा निकाय सबलीकरणमा ५ लाख बजेट राखिएको छ ।
बजेटको खर्च व्यहोर्ने मुख्य स्रोत संघीय समानीकरण अनुदानबाट ११ करोड ५१ लाख, सशर्त अनुदान (चालू) २० करोड १८ लाख, पुँजीगततर्फ ६१ लाख, विशेष अनुदान ६९ लाख र समपूरक अनुदान ८७ लाख रहेको छ । बाँडफाँड हुने राजस्वबाट ३३ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १० करोड ६३ लाख ६ हजार रुपैयाँ र साझेदारीमा आधारित समपूरक अनुदान १६ लाख ७७ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । गाउँ सभामा गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।