
काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड ५ विकेटले विजयी भएको छ ।
जीतसँगै ५ खेलको टेस्ट शृङ्खलामा घरेलु टोलीले १–० को अग्रता बनाएको छ । ३७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले पाँचौं तथा अन्तिम दिन भारतलाई हरायो ।
घरेलु टोलीका लागि ओपनर बेन डकेटले शतक बनाए । उनले १४९ रनको महत्त्वपूर्ण पारी खेले । ज्याक क्रलीले ६५ रन बनाए । जोए रुट ५३ र जेमी स्मिथ ४४ रनमा अविजित रहे । कप्तान बेन स्टोक्सले ३३ रन जोडे । भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिए ।
पहिलो पारीमा ६ रनको अग्रता लिएको भारतले दोस्रो पारीमा ३६४ रन जोडेपछि घरेलु टोलीले ३७१ रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा भारतका लागि ऋषभ पन्त र केएल राहुलले शतक बनाएका थिए ।
पहिलो पारीमा इङ्ग्ल्याण्डले ४६५ रन जोडेको थियो । त्यसअघि भारतले पहिलो पारीमा ४७१ रन बनाएको थियो । दुई देशबीचको दोस्रो टेस्ट क्रिकेट जुलाई २ तारिखमा शुरू हुनेछ ।