
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि ९१ करोड ४२ लाख रुपैयाँको अनुमानित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
असार १० गतेको समयसीमा भित्रै मंगलबार १६औं नगरसभाबाट नगर उपप्रमुख नरमाया कार्कीले ९१ करोड ४२ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमध्ये सशर्त कार्यक्रमका लागि ४८ करोड ३२ लाख २७ हजार, नगर योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि २७ करोड र चालू खर्चका लागि १७ करोड १० हजार रकम विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षा तथा संरक्षण भत्ताका लागि छुट्टै ४० करोड रकम विनियोजन गरेको उपप्रमुख नरमाया कार्कीले घोषणा गर्नुभयो ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने नीति अगाडि सारेको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनमा लगानी अभिबृद्धि गरी दिगो र समावेशी आर्थिक सामाजिक विकासका लागि काम गर्ने उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।
नगरसभामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरमा सञ्चालित नगर गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएको बताउनु भयो ।
उहाँले दूधे रंगाशाला, रिङ्गरोड, नगर अस्पताल सञ्चालन गरेर नगरबासीलाई सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।
नगरपालिकाले वडा सिलिङ्ग बजेट सूत्रका आधारमा बाँडफाड गरिएको छ । वडा सिलिङ्गका लागि एक वडा बराबर न्यूनतम ५० लाख कायम गरी सोभन्दा माथिको रकम सूत्रका आधारमा विनियोजन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जनसंख्या, भूगोल, राजश्व संकलन जस्ता विषयहरुलाई मापदण्ड बनाई वडामा बजेट विनियोजन गरेको हो ।
नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । जसमा १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको हो । नगर भित्रका पशु सेवा विस्तारका लागि ५० लाख, कृषि उत्पादन, बजारीकरण र किसान लक्षित कार्यक्रमका लागि ७० लाख, स्वास्थ्य क्षेत्रको विकासमा ७० लाख बजेट विनियोजन गरेको बजेट वक्तब्यमा उल्लेख छ ।
नगरभित्र रहेको एकमात्र आयुर्वेद चिकित्सालयलाई प्रवद्र्धन, निःशुल्क औषधि वितरण र सेवा प्रवाहका लागि २० लाख, बालबालिका महिला र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि २० लाख र सहकारी उद्यम विकास लागि ५ लाख बजेटको व्यवस्था गरिएको छ । सामाजिक विकास कार्यक्रमका लागि ३५ लाख र श्रम रोजगार विकास शाखा अन्तर्गत गरिने रोजगारमुलक कार्यक्रमका लागि १० लाख ७२ हजार रकम विनियोजन गरेको छ ।
नगरसभामा चालू आर्थिक वर्षमा भएको कामहरुको समीक्षा गरिएको थियो । समीक्षाका क्रममा वडाध्यक्ष डिल्लीलाल फेम्बु, हर्क सिगु, वडा सदस्य पूजा नेपालीले जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । उहाँहरुले आगामी दिनमा नगरका योजनाहरु वडाध्यक्ष तथा वडा सदस्यहरुसँग समन्वय गरेर सञ्चालन गर्नुपर्नुे सुझाब दिनुभयो ।
कार्यक्रम नगरप्रमुख मेगाहाङ्ग थोप्राको अध्यक्षतामा भएको थियो भने, सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले गर्नु भएको थियो ।