
काठमाडौं । आज काठमाडौं उपत्यकासहित ३५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापा, इलाम, पाँचथर, सङ्खुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रौतहट, गोरखा, तनहुँ, कास्की, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरुमा बाढीको मध्यम जोखिम छ ।
यस्तै मोरङ, सुनसरी, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने नदीहरुमा बाढीको सामान्य जोखिम छ ।
आजदेखि पर्सि बिहीवारसम्म कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्ने अनुमान छ । कोशी, नारायणी नदी, कन्काई र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कोशी र बागमती प्रदेश तथा राति सबै प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।