२०८२ असार ९, सोमवार , ०८:३७:५७ बजे

Sajhamanch
'

वनमन्त्री शाहीसँग बाहुनडाँगीका हात्ती प्रभावितको गुनासो : सांसद शर्माले १५ वटा बुँदामा गराए मन्त्रालयको ध्यानाकर्षण

सोमवार, असार ९, २०८२

काठमाडौं । पछिल्लो केही समयदेखि झापाको बाहुनडाँगी, बुद्धशान्ति, भद्रपुर लगायत स्थानमा हात्तीको प्रकोप बढेको गुनासो बढेपछि नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्माले चासो दिएका छन् ।

असार ८ गते आइतबार काठमाडौमा सांसद शर्माको संयोजनमा उनकै सचिवालयमा भएको छलफलमा वन तथा वातावरण मन्त्री ऎनबहादुर शाहीसहित सरोकारवाला व्यक्तित्वहरुको सहभागिता थियो ।

उक्त छलफलमा सांसद शर्माले १५ वटा बुँदामा मन्त्रालयको ध्यानाकर्षण गराएका उनको सचिवालयले जनाएको छ । उनले मेची किनारमा विगतमा बनाइएको सोलार फेन्सिङ जिर्ण बनेर निस्प्रभावी रहेकाले नयाँ मोडलको १८ किलोमिटर सोलार फेन्सिङ निर्माणको आवश्यकता सुझाएका छन् ।

सांसद शर्माले मेची नदीमा जनताको तटबन्ध कार्यलाई पूर्णता दिएर त्यसमाथि सोलार फेन्सिङ निर्माण गर्नु सबैभन्दा प्रभावकारी हुनसक्ने सुझाव दिँदै तटबन्ध निर्माणमा तीब्रताका लागि बजेट ब्यवस्था गर्न मन्त्रीसमक्ष प्रस्ताव पनि गरेका छन् ।

नेपाल भारत सिमानाको बाँझो जमीनमा हात्तीले खाने बोट बिरुवा रोप्न स्थानीय तह मार्फत संघीय सरकारले लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यस यताका उपयुुक्त जमिनमा हात्तीले कम रुचि राख्ने तोरी खेती गरेर तोरी मौरी अभियान सञ्चालन गरी तेल र मह मार्फत किसानको आयवृद्दी, मौरी मार्फत हात्तीका लागि प्रतिकूल भूगोलको विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका साँसद शर्माले वन मन्त्रीलाई सर्वसाधारण नागरिकले राहत र बीमाको रकम पाउने झन्झटिलो र लामो समय लाग्ने प्रक्रिया रोकेर स्थानीय तह मार्फत छिटोछरितो रूपमा उपलब्ध गराउने अनिवार्य व्यवस्था गर्न पनि सुझाएका छन् ।

बाहुन्डाँगी समाज काठमाडौंका अगुवाहरुको आग्रह र अनुरोधलाई स्वीकार गर्दै सांसद शर्माले वन मन्त्रीलाई आफ्नै सचिवालयमा आमन्त्रण गरी विषय माथि सहजीकरण गरेको जनाइएको छ । सो छलफलमा बाहुनडाँगीबाट काठमाडौं गएर बसेका हिरा आचार्य, मनबहादुर बाहिङ राई, मीन राई, गणेश बराल, नवीन बराल, सन्तोष नेउपाने, राजेन्द्र खनाल, दीलिप सोङमेन लगायतको सहभागिता थियो ।

सांसद शर्माको ब्रिफिंग र बाहुनडाँगीबासीको पीडायुक्त आवाज सुनेपछि मन्त्री शाहीले प्रस्तावित सुझावहरु कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट दृढ ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खबर