
काठमाडौं । नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकले उद्योगी व्यवसायीहरूको संरक्षण गर्न र कर प्रणाली चुस्त बनाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सन्तोष चालिसेले अरू देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धीकरण गर्नुपर्ने बताए।
उद्योगी व्यवसायी बाँकी रहेमात्रै कर उठ्ने भन्दै उनले उद्योगी व्यवसायीहरूको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको उल्लेख गरे।
समितिमा आज आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा आन्तरिक छलफल भएको हो ।