
इलाम । इलामको रोङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गएको छ। आइतबार अपराह्न ४ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बझाङ बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि झापाको बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
घटनामा संलग्न ट्रक र त्यसका चालक, पाँचथर कुम्मायक गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।